इटहरी । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो।
गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार तथा अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष राईले आवश्यकता पहिचानका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले प्राप्त सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन तथा कार्यसम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले पालिकाभरि सहकर्ता परिचालन गरी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा उनीहरूको आवश्यकताको विवरण संकलन गर्दै आएको बताउनुभयो । आवश्यकता पहिचानका आधारमा प्रत्येक वर्ष सहायक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ। पालिकाले ह्विलचेयर, बैसाखी, सेतो छडी, ट्वाइलेट चेयर, एल–छडी तथा इयरफोन लगायतका सहायक सामग्री वितरण गरेको हो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

