इटहरी। ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइलनमा पुग्नलाई पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबिच खेल हुने भएको हो ।

फिदिम स्पोर्टिङ क्लब र झापा ११ को सेमिफाइनल खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको थियो । यस्तै, नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै झापा ११ सेमिफाइनल पुगेको हो । फिदिम र झापा ११ बिच हुने खेलको बिजेता प्रतियोगिताको फाइनलमा पुग्ने आयोजक समितिका अध्यक्ष मादेनले बताउनुभयो । मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै साविक विजेतासमेत रहेको सिराहाको सलहेस युथ क्लब फाइनलमा पुगेको छ । भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले पराजित गर्दै सलहेस फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुने छ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ ।लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । यता प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार पाउने छ । त्यस्तै टिकट काटेर खेल हेर्ने भाग्यशाली एकजना दर्शकलाई टिभिएस कम्पनीको स्कुटर उपहारस्वरुप प्रदान गरिने कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिता भदौ १२ गतेदेखि सुरु भएको थियो ।