इटहरी । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विराटनगरमा साहित्यकार तथा समालोचक स्व। दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ । परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित एक विशेष समारोहमा वक्ताले सुवेदीको बहुआयामिक व्यक्तित्व र पुस्तकालय क्षेत्रमा उहाँले पुर्याउनुभएको सेवाको स्मरण गर्नुभयो ।
मुख्य वक्ता साहित्यकार बलराम पोखरेलले दधिराज सुवेदी एक अथक साधक भएको उल्लेख गर्नुभयो । उहाँले सुवेदीको सरल जीवनशैली र साहित्यप्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैँ ऊर्जा दिने बताउनुभयो । यस्तै प्राज्ञ एवं दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले सुवेदीको समालोचकीय क्षमता र साहित्यिक पत्रकारितामा उहाँले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै सुवेदी विराटनगरको साहित्यिक पहिचान भएको बताउनुभयो । समारोहमा प्रतिनिधि सभा सदस्य शिला दीक्षितले पुस्तकालय ज्ञानको मन्दिर भएको र दधिराज सुवेदी जस्ता व्यक्तित्वले समाजमा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले पुस्तकालयको संरक्षण र प्रवर्धनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साहित्यकार कविराज न्यौपानले आजको डिजिटल युगमा पनि भौतिक पुस्तकालयको सान्दर्भिकता उत्तिकै रहेको विचार व्यक्त गर्नुभयो । इन्टरनेटको भिडमा आधिकारिक ज्ञानका लागि पुस्तक र पुस्तकालय नै भरपर्दो स्रोत हुने उहाँको तर्क थियो । डा। भेषप्रसाद धमलाले सुवेदीले पुस्तकालय स्थापना र सञ्चालनका लागि देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।
परोपकार अभियान समूहले आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष बाबुराम न्यौपाने, कार्यक्रम संयोजक इन्दु सुवेदीलगायत विराटनगरका कवि, लेखक तथा सामाजिक अभियन्ताले सुवेदीले जीवनकालमा समाजसेवा र साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

