इटहरी। मोरङको लेटाङ नगर अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । लेटाङ–५ स्थित टुक्रे वन क्षेत्रको एक बिघा दुई कट्ठा जग्गामा निर्माण भएको यो अस्पताल २०७८ सालको पुस १० गते लेटाङ आधारभूत अस्पतालका रूपमा शिलान्यास भएको थियो ।
शिलान्यास भएको पाँच वर्षपछि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले अस्पतालको सेवा शुभारम्भ गर्नुभएको हो । सङ्घीय सरकारको ससर्त अनुदानबाट प्राप्त नौ करोड ९९ लाख ३६ हजार ९३१ रुपियाँमा निर्माण हुने भनिएको अस्पतालको डिजाइन परिवर्तन हुँदा निर्माणको लागत १२ करोड ९० लाख ९१ हजार ६९६ पुगेको थियो । जसमध्ये लेटाङ नगरपालिकाको स्रोतबाट तीन करोड ४३ लाख ७२ हजार ४४७ रुपियाँ थप गरी अस्पताल निर्माणको काम सम्पन्न गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले जानकारी दिनुभयो । निर्माण सम्झौता हुँदा २०७९ सालको फागुन मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने थियोे । पटक पटक म्याद थपेर निर्माण कम्पनी प्रेरा एम कन्स्ट्रक्सन जेभीले अस्पताल ढिलो गरी निर्माण सम्पन्न गरेको हो । नगरप्रमुख भूपेन्द्रकुमार लावतीले अस्पतालले उत्तरी मोरङसँगै धनकुटाको दक्षिणी भाग र इलामको दक्षिण पश्चिमका बासिन्दाले सेवा लिन सक्ने बताउनुभयो । नगर अस्पतालले स्वास्थ्यसम्बन्धी ४० प्रकारको सेवा दिने उहाँको भनाइ छ । नगरप्रमुख लावतीले पछिल्लो चार वर्षमा अस्पतालमा आउने बिरामीको सङ्ख्या दोब्बरले बढेको बताउनुभयो । उहाँका अनुसारर आव २०८२र८३ मा लेटाङ अस्पतालमा ५२ हजार १९५ जनाले स्वास्थ्य सेवा लिएका थिए भने २०७९र८० मा २५ हजार २२३ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ ३ मा २०४१ सालमा स्थापना भएको आधारभूत स्वास्थ्य चौकी २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७९ सालमा आधारभूत नगर अस्पताल भई हाल १० श(याको नगर अस्पतालमा स्तरोन्नति भएको बताउनुभयो । अस्पतालका प्रशासन प्रमुख शिवनारायण यादवका अनुसार अस्पतालले चार जना विशेषज्ञ र चार जना मेडिकल अधिकृतबाट सेवा दिइरहेको छ । १० श(याको स्वीकृति भए पनि ४० श(याको सेवा दिने प्रशासन प्रमुख यादवले बताउनुभयो । अस्पताल शुभारम्भको अवसर पारेर नगरका ३३ जना महिला स्वयंसेविकाले ३३ वटा कुर्सी प्रदान गर्नुभयो ।


