इटहरी। सुनसरीका दुई अलगअलग स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।
दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकखण्डबाट २८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। गाँजासहित सुनसरीको देवानगन्ज गाउँपालिका–३ का २३ वर्षीय एम।डी। जावेद मियाँलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। त्यस्तै, कोशी गाउँपालिका–१ लौकहीबाट १७ किलो १४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले मधुवनबाट लौकहीतर्फ जाँदै गरेको ना। ६० प ५३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
गाँजासहित भारतको सुपौल पञ्चायत फत्तेपुर–१ का २१ वर्षीय दीपककुमार पोदारलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


