इटहरी स्  मोरङको बूढीगंगा गाउँपालिका–३ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन्। स्थानीय निर्मल पौदारको दुईतले पक्की घरको माथिल्लो तलाबाट बिहान करिब ३ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक ९सई० खड्ग राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

विराटनगर महानगरपालिका र दुहबी नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी बिहान ५ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट पौदारको घरमा आंशिक क्षति पुगेको छ। घरका दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। पसलमा भएको क्षतिको यकिन विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस्तै, सोही घरका दुईवटा सटर भाडामा लिएर दुहबी नगरपालिका–६ का पिन्टु साहले सञ्चालन गर्दै आएको किराना पसलका सामानसमेत जलेर नष्ट भएका छन्। उक्त सटरका घरधनी सुनसरीको दुहबी नगरपालिका–५ का दशरथ हलुवाई रहेको प्रहरीले जनाएको छ। किराना पसलमा भएको क्षतिको विवरण पनि संकलन भइरहेको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीको वास्तविक कारण तथा भएको क्षतिको यकिन विवरण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।