इटहरी स् भोजपुरमा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासी र वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट एक वर्षमा नौ करोड ६९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
डिभिजन वन कार्यालय भोजपुरका अनुसार आर्थिक वर्ष २०८२र८३ मा वन क्षेत्रबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन भएको हो। निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार गत आर्थिक वर्षमा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण भएको थियो। काठ निकासीबाट मात्रै रु आठ करोड १२ लाख ९३ हजार ९२५ मूल्य अभिवृद्धि कर ९भ्याट० र रु एक करोड ४६ लाख ५२ हजार ९०० प्रदेश सेवा शुल्क सङ्कलन भएको छ। वन कार्यालयका अनुसार सो अवधिमा रु पाँच लाख ४१ हजार ८० वन रोयल्टीसमेत सङ्कलन भएको छ। वन क्षेत्रबाट राजस्व सङ्कलनसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना भइरहेको कार्यालयको भनाइ छ।
भोजपुरको स्थानीय अर्थतन्त्रमा वन क्षेत्रको योगदान महत्वपूर्ण बन्दै गएको कार्यालयले जनाएको छ। जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयस्तरमा थप रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको आकलन छ। जिल्लाको कुल भू–भागमध्ये ८४ हजार १६१ हेक्टर क्षेत्र वनले ढाकेको छ। यो कुल भू–भागको ५५।२८ प्रतिशत हो। वन पैदावारको दिगो उपयोगसँगै स्थानीयस्तरमै प्रशोधन र मूल्य अभिवृद्धि गर्ने कामलाई प्राथमिकता दिन सके वन क्षेत्रबाट जिल्लाले अझ बढी आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।