इटहरी। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज प्रालिले पाँच लाख एक हजार रुपियाँ सहयोग गरेको छ ।

बाढीबाट ठुलो जनधनको क्षति भएपछि उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनी व्यवस्थापन तथा त्यहाँ कार्यरत कर्मचारी र मजदुरको सहभागितामा उक्त रकम उपलब्ध गराएको हो । उद्योगका अनुसार कम्पनी व्यवस्थापनको सहयोग तथा कर्मचारीको एक दिनको तलब बराबरको रकमसमेत समेटेर कुल पाँच लाख एक हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रिजाल टासी इन्डस्ट्रिजका उपमहाप्रबन्धक केदार कार्कीले विपद्को कठिन घडीमा बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता र मानवीय सहयोगको भावना व्यक्त गर्दै उद्योगका तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले कम्पनी व्यवस्थापनसँगै कर्मचारी र मजदुरलाई समेत राहत अभियानमा जोडेर सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुगेको र प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

कम्पनी व्यवस्थापनको सहयोगसँगै कर्मचारी तथा मजदुरको एक दिनको पारिश्रमिकसमेत जोडिनुले विपद्का समयमा संस्थागत सहयोग र श्रमिकको मानवीय भावना एकै ठाउँमा जोडिएको उद्योगले जनाएको छ । विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्न निजी क्षेत्र, सङ्घसंस्था तथा सर्वसाधारण सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न उद्योगले आग्रह गरेको छ । उद्योग व्यवस्थापन, कर्मचारी र कार्यरत मजदुरले एक दिनको तलबसहित विपद् कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको भए पनि उद्योगमा कार्यरत सम्पूर्ण कर्मचारी तथा मजदुरले आ–आफ्नो तर्फबाट व्यक्तिगत रूपमा समेत सहयोग उपलब्ध गराएको उद्योगले जनाएको छ ।