इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलङ्का टापुमा सप्तकोशी नदीले गरेको कटान क्षेत्रको प्रतिनिधिसभा सदस्य दीपककुमार साह र सृष्टि भट्टराईलगायतको टोलीले निरीक्षण गरेको छ।

बाढी र कटानका कारण स्थानीयवासीले भोगिरहेको समस्या र क्षतिको अवस्थाबारे जानकारी लिन तथा प्रभावितको अवस्था बुझ्नका लागि सांसदद्धयसहित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसहितले स्थलगत निरीक्षण गर्नुभएको हो । बाढी तथा कटानबाट भएको क्षतिको अवलोकन गरी आवश्यक पहल तथा समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका सभापति सागर दाहालले जानकारी दिनुभयो ।

सहभागी प्रतिनिधिसभा सदस्य भट्टराईले जनताको समस्या, आफूहरूको सरोकार भएकाले बास्तविकता थाहा पाउन स्थलगत निरीक्षण गरेको बताउनुभयो । उहाँले हरेक वर्ष बाढी, डुबान र नदी कटानले जनजीवन प्रभावित भइरहेको सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ६ र ९ स्थित श्रीलङ्का टापुमा पुगेर बाढी तथा नदी कटानबाट प्रभावित क्षेत्रको निरीक्षण गरेको बताउनुभयो ।