इटहरी। विराटनगर महानगरपालिका–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरबाट निकालिने ३२औँ राधाकृष्ण रथयात्राका लागि २१ फिट अग्लो नयाँ रथ तयार भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २० गते शनिबार रथयात्रा आयोजना हुँदैछ ।

रथयात्रा बिहान ८ः३० बजे मानगढस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर विराटनगरका मुख्य सडक तथा विभिन्न चोक हुँदै नगर परिक्रमा गरी दिउँसो १२ बजे सम्पन्न हुनेछ । रथ करिब २१ फिट अग्लो, १५ फिट चौडा र १९ फिट लामो रहेको रथयात्रा मूल समारोह समितिले जनाएको छ । समितिका संयोजक पशुपतिनाथ रेग्मीका अनुसार रथयात्रामा सहभागी भक्तजनका लागि मन्दिर परिसरमा दिउँसो १२ बजेदेखि विशाल भण्डाराको व्यवस्था गरिएको छ । रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन यातायात तथा सुरक्षा व्यवस्थापनको तयारीसमेत अघि बढाइएको छ ।

यसअघि रथयात्राको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको समितिले जनाएको छ । भदौ १८ गते मोटरसाइकल र्‍याली निकालिनेछ भने भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका दिन मन्दिरमा विशेष पूजा–आराधना, हरिनाम संकीर्तन, मध्यरातमा महाअभिषेक, कथा वाचन र आरतीसहित जन्मोत्सव मनाइनेछ ।