इटहरी स् भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६० जना सम्पर्कविहीन भएका छन्।
कोशी प्रदेश प्रहरीका अनुसार भदौ १० गतेदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका तथा काम र भ्रमणका क्रममा सो क्षेत्रमा रहेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सोलुखुम्बुका ४२ जना छन्। सोलुखुम्बुका तीन जना भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्। यस्तै, ओखलढुंगाका २६ जना, मोरङका १८ जना, सुनसरीका १६ जना, उदयपुरका १६ जना, झापाका १३ जना, खोटाङका १० जना र इलामका नौ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। संखुवासभा र भोजपुरका तीन–तीन जना तथा ताप्लेजुङ र धनकुटाका दुई–दुई जना सम्पर्कविहीन छन्। पाँचथरका एक जना पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ओखलढुंगाका तीन जनाको उद्धार भएको छ भने १० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। सुनसरीका पाँच जना र उदयपुरका पाँच जना पनि सम्पर्कमा आइसकेका छन्। झापाका एक जनाको उद्धार भएको छ भने खोटाङका एक जना परिवारको सम्पर्कमा आएका छन्। इलामका नौ जना सम्पर्कविहीनमध्ये एक जनाको उद्धार गरिएको, एक जना उपचाररत रहेको र एक जना मृत फेला परेको प्रहरीले जनाएको छ। ताप्लेजुङका तीन जना पनि परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार विभिन्न जिल्लाबाट काम तथा भ्रमणका क्रममा भोटेकोशी क्षेत्र पुगेकाहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढी प्रभावितमध्ये हालसम्म पाँच जनाको उद्धार गरिएको, २७ जना परिवार तथा आफन्तको सम्पर्कमा आएको, एक जना उपचाररत रहेको र एक जना मृत फेला परेको एसएसपी थापाले जानकारी दिए। बाढीपछि प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धार कार्य विभिन्न जिल्लामा जारी रहेको प्रहरीले जनाएको छ।


