इटहरी । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चीर शान्तिको कामना गर्दै सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रस्थित कोशी संगममा १०८ दीप प्रज्वलन गरिएको छ। 

कोकाहा र सप्तकोशी नदीको पवित्र संगमस्थलमा मंगलबार साँझ आयोजित श्रद्धाञ्जली कार्यक्रममा एक जोडी सेतो परेवा समेत आकाशमा उडाइएको थियो। बाढीपीडितका लागि राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ हिँडेका सामाजिक अभियन्ता नेत्रप्रसाद चम्लागाईँको नेतृत्व र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जरासहित १० जना युवाको टोलीले उक्त कार्यक्रमको आयोजना गरेको हो।

बाटोमा गएको पहिरो र बाढीका कारण राहत टोली प्रभावित क्षेत्रसम्म पुग्न नसकेपछि युवाहरूले बराहक्षेत्र पुगेर कोशी किनारमा दीप बालेका हुन्। कार्यक्रममा सामाजिक अभियन्ता चम्लागाईँले बाटोले छेके पनि पीडितहरूसँगको भावनात्मक सम्बन्ध नरोकिएको बताउनुभयो। त्यस्तै, रास्वपा उपसभापति बन्जराले समाचारमा आउने मृतकका सङ्ख्या केवल अङ्क मात्र नभई कसैको सिङ्गो संसार भएको उल्लेख गर्दै सडक सुचारु हुनेबित्तिकै प्रभावित क्षेत्रमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  ।

साँझ ढल्किँदै जाँदा कोशी किनारमा प्रज्वलित १०८ दीपले विपत्तिले भौतिक संरचना र जीवन खोसे पनि मानवीय संवेदना तथा श्रद्धालाई कहिल्यै बगाउन नसक्ने सन्देश दिएको छ ।