इटहरी । मोरङको पथरी शनिश्चरेस्थित पेगोडा मोडल सेकेण्डरी विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा मानव अङ्ग बेचबिखनविरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गत भदौ १६ गते आयोजना गरिएको हो ।
कार्यक्रममा मानव बेचबिखन तथा मानव अङ्ग बेचबिखनका विभिन्न स्वरूप, यसबाट बच्ने उपाय तथा कानुनी प्रावधानका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीर दत्त पन्तले मानव बेचबिखनका आधुनिक स्वरूप, अपराधमा संलग्न व्यक्तिमाथि हुने कानुनी कारबाही तथा जोखिमबाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउनुभएको थियो।
उहाँले विशेषगरी बालबालिका तथा युवायुवतीलाई विभिन्न प्रलोभन देखाएर मानव बेचबिखनमा फसाउने प्रवृत्ति बढिरहेको भन्दै यस्ता गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रमको सभापतित्व विद्यालयका प्रिन्सिपल रमेश कुमार कोइरालाले गर्नुभएको थियो।
कार्यक्रमले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि विद्यार्थी तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


