इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युथ क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब खेल्ने भएका छन् । प्रतियोगिताको फाइनलमा पुगेको सलहेस र फिदिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
शुक्रबार हुने प्रतियोगिताको फाइनलमा साविक विजेतासमेत रहेको सलहेस र पहिलो पटक फाइनलमा पुगेको फिदिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिराहाको सलहेस युथ क्लब ताप्लेजुङ गोल्डकपको तेस्रो संकरणको विजेता र दोस्रो संस्करणमा उपविजेता भएको थियो । यस्तै पाँचथरको फिदिम स्पोर्टिङ क्लब यसअघिका ताप्लेजुङ गोल्डकपमा सेमिफाइनलभन्दा अघि बढ्न सफल भएको थिएन । यसवर्ष पाँचथरको फिदिम पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । बुधबार भएको सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो ।
फिदिमलाई विजय गराउन सुसन जबेगुले निर्णायक गोल गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताको क्वार्टरफाइनलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको थियो । यसैगरी, मङ्गलबार भएको पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलअन्तरले हराएर सलहेस युथ क्लब फाइनलमा पुगेको हो । क्वार्टरफाइनलमा भने ललितपुरको सातदोबाटो युथ क्लबविरुद्ध पेनाल्टी सुटआउटमा नै ४–३ गोल गर्दै सलहेस विजयी भएको थियो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनभुयो । अध्यक्ष मादेनका अनुसार टिकट काटेर खेल हेर्ने भाग्यशाली एकजना दर्शकलाई पनि यसवर्ष उपहारस्वरुप टिभिएस कम्पनीको स्कुटर प्रदान गरिने छ । लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । आठ टोली सहभागी भएको प्रतियोगिता भदौ १२ गतेदेखि सुरु भएको हो ।


