इटहरी। ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ । शाक्यको १७ औँ स्मृति दिवसका अवसरमा मङ्गलबार सदरमुकाम फुङलिङमा सिर्जना वाचन कार्यक्रम गरिएको हो ।

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जिल्लाका अग्रज साहित्य सर्जक भरत गुरुङ, चन्द्र मादेन ९आन्छन०, लेकाली कान्छा मुक्कुमलगायतले सिर्जना वाचन गर्नुभयो । यसै गरी होमनाथ दाहाल, सीता पिरती, लीला आँसु, उदय भट्टराई, प्रशान्त लेखकसहित साहित्य सिर्जनामा सक्रिय तथा उदयमान सर्जकले रचना वाचन गर्नुभयो । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार सर्जकले कविता, गजललगायत विधाका रचना वाचन गरेका थिए । यसै गरी कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार राजेश्वर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । छ दर्जनभन्दा बढी विभिन्न कृति लेखन तथा प्रकाशन गरेर साहित्यक्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै साहित्यकार थापालाई सम्मान गरिएको हो ।

सो कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, जगमोहनका छोरा सुन्दरमोहन शाक्यलगायतका वक्ताले साहित्य क्षेत्रमा जगमोहनको योगदानबारे चर्चा गर्नुभएको थियो । स्वर्गीय जगमोहनले ताप्लेजुङको साहित्य विकासमा अतुलनीय योगदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ । साहित्य सिर्जनासँगै शाक्यका गजल, कवितालगायत विधाका आधा दर्जनभन्दा बढी कृति तथा पुस्तक प्रकाशित भएका छन् ।