इटहरी : नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला भन्ने सोचले अर्जुन विष्टलाई पिरोल्थ्यो । उमेर थियो, जोस र जाँगर बाँकी थियो । केही न केही गर्नैपर्छ भन्ने सोच उनमा थियो ।

विदेश जाने चाहना थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र अरूका लागि उदाहरण बन्ने लक्ष्यका साथ उनले कृषि व्यवसाय सुरु गरे । आज त्यही कृषिले विष्टलाई सफल व्यावसायिक कृषकको नयाँ परिचय दिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट अहिले सफल व्यावसायिक कृषकका रूपमा स्थापित भएका छन् । कृषि व्यवसायबाट उनले वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको बताए । विसं २०७७ मा नेपाल प्रहरीको सेवाबाट अवकाश लिएपछि विष्टले कृषि व्यवसाय सुरु गरेका हुन् । अवकाश हुँदा प्राप्त भएको रु १४ लाख लगानी गरेर व्यवसाय सुरु गरेका उनले अहिले पाँच बिगाहा क्षेत्रफलमा केरा, भूइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै र धानलगायत खेती गर्दै आएका छन् । उनले नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेका थिए ।

केराको बिक्रीबाट मात्रै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको विष्टले बताए । उत्पादित केरा बारीबाटै प्रतिदर्जन रु ५० का दरले थोकमा बिक्री हुने गरेको छ । उनले उत्पादन गरेको केरा चक्रघट्टी, कालाबञ्जर र चतरालगायत स्थानीय बजारसँगै इटहरी, धरान र गाईघाटसम्म बिक्रीका लागि पठाउने गरेका छन् । विष्टले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाएका छन् । एउटा केराको बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उनको भनाइ छ । केरा रोपेको करिब एक वर्षपछि उत्पादन लिन सकिन्छ । केरा खेतीमा धेरै मेहनत आवश्यक पर्ने उनले बताए । रोग र किराको समस्या हुने, नियमित गोडमेल गर्नुपर्ने तथा अनावश्यक बोट हटाउनुपर्ने भएकाले खेतीमा निरन्तर समय दिनुपर्ने उनको भनाइ छ । ‘खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,’ उनले भने ।

यस्तै, भूइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको विष्टले बताए । गत वर्ष मात्रै उनले करिब रु १५ लाख बराबरको भूइँकटहर बिक्री गरेका थिए । यस वर्ष गत वर्षको तुलनामा कम क्षेत्रफलमा खेती गरिएकाले उत्पादन घटेको उनले बताए । भूइँकटहर प्रतिगोटा रु २०० सम्ममा बिक्री हुने गरेको छ । यसको मुख्य सिजन असारदेखि भदौसम्म रहने गर्दछ । बजारमा भूइँकटहरको मूल्य निर्धारणमा भारतीय उत्पादनले पनि प्रभाव पार्ने गरेको उनको भनाइ छ । भारतबाट ठूलो परिमाणमा भूइँकटहर भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको उनले बताए । ‘यस वर्ष नेपाली भूइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,’ उनले भने ।

त्यस्तै, विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेती गरेका छन् । भारतबाट बीउ ल्याएर उक्त खेती गर्दै आएका उनले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने गरेको बताए । उनले उत्पादन गरेका कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेका छन् । मकै र धान बिक्रीबाट पनि वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए । विभिन्न बाली तथा फलफूल बिक्री गर्न र बजारसम्म पुर्‍याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालनमा ल्याएका छन् । पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उनको भनाइ छ । यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोग तथा किराको समस्या पनि नभएकाले उत्पादन राम्रो भएको उनले बताए ।

गत वर्षको बाढीले भने उनलाई करिब रु १० लाख बराबरको क्षति पुर्‍याएको थियो । बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो । बिक्रीका लागि तयार भएको सयपत्री फूल डुबानमा परेर नष्ट भएको थियो भने केराखेतीमा पनि ठूलो क्षति पुगेको उनले जानकारी दिए । विष्टले कृषि व्यवसायमार्फत अरूलाई समेत रोजगारी दिएका छन् । ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको उनले बताए । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भूइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने तथा रोपाइँलगायत काममा मजदुर आवश्यक पर्ने भएकाले स्थानीयले रोजगारी पाएको उनको भनाइ छ ।  प्रहरी सेवाबाट अवकाशपछि अन्य व्यापार–व्यवसायबाट खासै आम्दानी नहुने देखिएपछि आफू कृषि पेसामा लागेको विष्ट बताउँछन् । सुरुआती दिनमा भने कृषि व्यवसाय गर्न सहज नभएको उनको अनुभव छ । खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्नेसम्मका काममा निकै मेहनत गर्नुपरेको उनले बताए ।

कृषिमा प्रभावकारी अनुदानको व्यवस्था खासै नभएको उनको भनाइ छ । ‘कृषिमा अनुदानको आस गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ,’ उनले भने, ‘कृषि गर्ने युवाले ठूलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानीमा सुरु गर्दा राम्रो हुन्छ ।’  कृषि पेसामा सफल हुन आफ्नै मेहनत सबैभन्दा आवश्यक हुने विष्टको अनुभव छ । ‘कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन । आफैँ मेहनत गर्नुपर्छ,’ उनले भने ।