इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने दाउमा छन् । फाइनलमा पुगेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधि जित्ने दाउमा रहेका हुन् ।

लाखेजात्रा सञ्चालन समितिले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा फाइनल पुगेको टोलीका मुख्य प्रशिक्षक तथा कप्तानले आफूहरू प्रतियोगिताको उपाधि जित्ने दाउमा रहेको बताएका छन् । सलहेस युवा क्लबका मुख्य प्रशिक्षक राजिपकुमार यादवले उपाधि जित्नेगरी आफ्नो टोलीले खेल खेल्ने बताउनुभयो । ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणदेखि सलहेसले सहभागिता हुने अवसर प्राप्त भएको र अहिलेसम्म लगातार तीन प्रतियोगितामा सहभागिता जनाइरहेको र तीनैपटक फाइनलमा पुगेको मुख्य प्रशिक्षक यादवले बताउनुभयो । लगातार फाइनलमा पुगेसँगै दोस्रो संस्करणको प्रतियोगितामा उपविजेता, तेस्रोमा विजेता बनेको सलहेस र यसपटकको फाइनलबाट उपाधि दोहो¥याउने दाउमा रहेको यादवको भनाइ छ । गतवर्ष राम्रो खेल खेल्ने विदेशी मुलका खेलाडीहरु सहभागी गराएर उपाधि जितेको बताउँदै प्रशिक्षक यादवले यसवर्ष विदेशी नभए पनि नेपाली राष्ट्रिय खेलाडीहरु आफ्नो टोलीमा भएकाले फाइनल खेल जित्दै उपाधि रक्षा गर्ने दावी गर्नुभयो । यस्तै सलहेसको टोलीमा समान खेल प्रदर्शन गर्नसक्ने क्षमता भएका खेलाडीहरु रहेको कप्तान प्रवेश दनुवारले बताउनुभयो ।  

यस्तै फिदिम स्पोर्टिङ क्लबका मुख्य प्रशिक्षक उपेन्द्र श्रेष्ठले पनि आफ्नो टोली उपाधि जित्ने दाउमा रहेको बताउनुभयो । नेपालका चर्चित चित्लाङ फुटबल क्लब काठमाडौं र झापा ११ फुटबल क्लबलाई पराजित गरेर फाइनलमा पुगेकाले फिदिम स्पोर्टिङ क्लब प्रतियोगिताको उपाधि जित्ने दाउमा रहेको मुख्य प्रशिक्षक श्रेष्ठको भनाइ छ । ताप्लेजुङ गोल्डकपको यसअघिका संस्करणमा पाँचथरको फिदिम सेमिफाइनलभन्दा अघि बढ्न सफल भएको थिएन । यसवर्ष पहिलो पटक फाइनलमा पुगेकासँगै उपाधि जित्नेगरी खेल खेल्ने तयारीमा आफूहरु रहेको फिदिम स्पोर्टिङ क्लबका कप्तान अनुकेश शेर्माले बताउनुभयो । बुधबार भएको सेमिफाइनलमा झापा ११ लाई १–० गोलअन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो । त्यस्तै मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगेको सलहेस युवा क्लबले भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलअन्तरले हराएको थियो । यता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले प्रतियोगिताका सेमिफाइनल चरणको खेल सहज र प्रभावकारी रुपमा सम्पन्न भएको बताउनुभयो । सहभागी टोली तथा खेलाडीको अनुशासित खेल प्रदर्शन र दर्शकको साथले प्रतियोगिता प्रभावकारी बनेको अध्यक्ष मादेनले बताउनुभयो । 

शुक्रबार प्रतियोगिता सम्पन्न हुने र उक्त दिनको फाइनल खेलमा पनि सबै पक्षको साथ सहयोग गर्न र दर्शकलाई खेल मैदानमा सहभागी भएर खेल अवलोकन गरिदिनका लागि अध्यक्ष मादेनले आह्वान पनि गर्नुभएको छ । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ ।  लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । आठ टोली सहभागी भएको प्रतियोगिता भदौ १२ गतेदेखि सुरु भएको हो ।