इटहरी स् प्रहरीको हत्कडीसहित फरार भएका भद्रपुरका २४ वर्षीय सन्देश हस्दा हातहतियार र वन्यजन्तुको अखेटोपहारसहित पक्राउ परेका छन्। भदौ १४ गते आइतबार राति बिर्तामोड नगरपालिका–६ स्थित देउनियानजिक चोरीमा संलग्न रहेको सूचनाका आधारमा हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।
पक्राउपछि हत्कडी लगाएर प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा हस्दा प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए। हत्कडीसहित फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा बिर्तामोड नगरपालिका–६ स्थित सेन्ट जेभियर स्कुलको पछाडि बाँसको झ्याङमा कालो प्लास्टिकभित्र हत्कडी फेला परेको प्रहरीले जनाएको छ। हत्कडीका दुवै भाग ग्लेन्डर प्रयोग गरी काटिएको अवस्थामा भेटिएको थियो। हत्कडी फेला परेपछि प्रहरीले थप खोजतलास गर्ने क्रममा राति करिब ११ः२५ बजे भद्रपुर नगरपालिका–१० स्थित सिद्धार्थ चोकबाट हस्दालाई नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनासँग सम्बन्धित थप विवरण खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा भद्रपुर–१० जेसिस टोलमा साइला मुर्मुको घरमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा काठको भरुवा बन्दुकजस्तो देखिने बट्टा एक थान, व्यारेलजस्तो देखिने फलामको पाइप चार थान र फलामको व्यारिङ ७४ थान बरामद भएको छ। त्यस्तै, बारुदजस्तो देखिने धुलो करिब एक ग्राम, भरुवा बन्दुकमा बारुद भर्न प्रयोग गरिने फलामको झिर एक थान, जंगली जनावर हरिणको जस्तो देखिने सिङ दुई थान, दुम्सीको भुँडीजस्तो देखिने वस्तु पाँच थान र दुम्सीको काँडाजस्तो देखिने २७० वटा बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बरामद सामग्रीको प्रकृति र त्यसको प्रयोग तथा स्रोतबारे थप अनुसन्धान भइरहेको छ। हस्दामाथि अवैध हातहतियार तथा वन्यजन्तुसम्बन्धी कानुनअनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


