इटहरी। कोशी लोकमार्गअन्तर्गत पाख्रीबास–खाँदबारी सडक खण्डमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित माङमाया खोला छेउमा रहेको रुपाटार खेत यतिबेला धानले हरियाली बनेको छ ।

तराई क्षेत्रमा उत्पादन हुने धानसरह उत्पादन हुने भएकाले रुपाटारको जमिनलाई धान खेतीका लागि निकै उपयुक्त मानिन्छ । अरुण उपत्यका क्षेत्रमा अवस्थित यस खेतमा स्थानीय किसानले वर्षमा तीन पटकसम्म विभिन्न बाली लगाउने गरेका छन् । उक्त खेत किसानका लागि उर्वर भूमि र आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । 

समुद्री सतहबाट तुलनात्मक रूपमा कम उचाइमा रहेको अरुण उपत्यका क्षेत्रमा पर्ने रुपाटारमा तराईकै झल्को दिने गरी धान उत्पादन हुने गरेको स्थानीय बताउँछन् । माङमाया खोलाको पानी र उर्वर माटोका कारण यहाँको कृषि उत्पादन राम्रो हुने गरेको छ ।