इटहरी । धनकुटाको साँगुरीगढी गाँउपालिका–६  भोडेटार चोकबाट प्रहरीले १५ किलो ६३ ग्राम गाँजा र दुईवटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान करिब ७ बजेतिर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–४ ज्यामिरे घर भएका अन्दाजी ४४ वर्षीय भीमबहादुर लिम्बू र मोटरसाइकलमा पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बूलाई पक्राउ गरेको हो ।

यसैगरी धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–५८ प ६००९ नम्बरको मोटरसाइकल चालक वीरबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूको साथबाट दुई वटा कालो प्लाष्टिकमा प्याक गरी झोलामा बोकेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता, डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।