इटहरी । इटहरी–४ आइतबारेमा टेबल अन टेल्स रेस्टुरेन्टको सफ्ट ओपनिङ शुभारम्भ भएको छ । १८ वर्ष हङकङमा काम गरेर स्वदेश फर्किनुभएकी लावा लिम्बुले आफ्नै अनुभव र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।
साढे दुई कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टले परिवार मैत्री वातावरण सहित गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने जनाएको छ। रेस्टुरेन्टमा चाइनिज, कन्टिनेन्टल, इन्डियन लगायत विभिन्न मल्टी–कुजिन परिकार उपलब्ध हुने सञ्चालकले बताउनुभयो । युरोपियन, जापान्डी तथा मल्टी–डिजाइन शैलीको आकर्षक इन्टेरियर र एक्स्टेरियर डिजाइनमा तयार गरिएको रेस्टुरेन्टमा सी–फुड, इटालियन पिज्जा लगायतका विभिन्न परिकार समेत उपलब्ध हुने जनाइएको छ।
रेस्टुरेन्ट बिहान ७ बजेदेखि १० बजेसम्म मर्निङ क्याफे र बिहान ११ बजेदेखि राति १० बजेसम्म रेस्टुरेन्टका रूपमा सञ्चालन हुनेछ । स्थानीय ग्राहकसँगै परिवार, साथीभाइ तथा आफन्तहरूका लागि सहज र रमाइलो वातावरण उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक लिम्बुले बताउनुभयो ।
रेस्टुरेन्ट सञ्चालनसँगै करिब ४५ जनाले प्रत्यक्ष रोजगारी पाउने जनाइएको छ । लामो समय विदेशमा हासिल गरेको अनुभवलाई स्वदेशमै प्रयोग गर्दै आतिथ्य तथा खाद्य क्षेत्रमा नयाँ पहिचान बनाउने लक्ष्य सहित टेबल अन टेल्स सञ्चालनमा ल्याइएको हो।


