इटहरी । बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘जुनियर फेस अफ सुनसरी’ को दोस्रो संस्करणको ग्रान्ड फिनाले इटहरीमा सम्पन्न भएको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा गल्र्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बू विजेता घोषित भएका छन्। विजेताद्वयले २५–२५ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, क्राउन र आकर्षक उपहारहरू प्राप्त गरे। इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रबाट छनोट भएका ४२ जना बालबालिकाहरूले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गल्र्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप र झुम्काकी सुप्रिया बस्नेत सेकेन्ड रनरअप बन्न सफल भए। ब्वाइजतर्फ इटहरीका पुकार पौडेल फस्ट रनरअप र कालाबञ्जारका सोयल राई सेकेन्ड रनरअप घोषित भए।
फस्ट रनरअपले १५–१५ हजार र सेकेन्ड रनरअपले १०–१० हजार रुपैयाँ नगद सहित क्राउन र ट्रफी हात पारे। ग्रान्ड फिनालेमा दिनेश कोइराला, रोनक अग्रवाल र सेनोरिटा मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए । आयोजक संस्था ‘एल एण्ड सी मोडल एजेन्सी प्रा. लि.’ ले प्रतियोगितालाई बालबालिकाको सर्वाङ्गीण विकासको पाठशालाको रूपमा प्रस्तुत गरेको छ। फाइनलअघि प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास, बोल्ने कला, योगा तथा बालमनोविज्ञानसँग जोडिएको संवेदनशील विषय ‘गुड टच–ब्याड टच’ बारे सचेतनामूलक तालिम दिइएको थियो। प्रतियोगितालाई सफल बनाउन सिइओ दीपक गिरी, इभेन्ट म्यानेजर सूर्य गिरी, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, मेकअप आर्टिस्ट मन्सु बस्नेत, इभेन्ट सपोर्टर मनिका खनाल, ड्रेस डिजाइनर कृषा गिरी र फोटोग्राफर ईजन तामाङ तथा दिनेश श्रेष्ठले सहकार्य गरेका थिए।
त्यसैगरी, सुनिता बस्नेत र सुभेक्क्षा मगराईले असिस्टेन्ट कोरियोग्राफरको रूपमा प्रशिक्षण दिएका थिए। यस इभेन्टको फोटोग्राफी तथा भिडियोग्राफी पार्टनरमा ‘परीकला फोटोग्राफी’ र मिडिया पार्टनरको रूपमा ‘परीकला न्युज’ ले सहकार्य गरेका थिए । कोशी प्रदेशको फेसन क्षेत्रमा ख्याति प्राप्त एल एण्ड सी मोडल एजेन्सीले यसअघि पनि दर्जनौँ सफल इभेन्टहरू सम्पन्न गरिसकेको छ ।


