इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगामी मंसीर २७ गतेभित्र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ ।
बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न नगरपालिका लागि परेको सामाजिक विकास शाखाका प्रमुख अरुणकुमार मेहताले जानकारी दिनुभएको छ। सोही सन्दर्भमा बिहीबार नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागितामा वडा तथा नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा र दिगोपनामा विद्यालयको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।
संघीय सरकारले तोकेका बाल बचाउ, संरक्षण, विकास, सहभागिता, बालमैत्री योजना तथा बजेट, संस्थागत व्यवस्था, गुनासो सुनुवाइ, तथ्याङ्क संकलन र नियमित अनुगमन सम्बन्धी सूचकहरू पूरा गर्न लागिएको छ। त्यसैगरी स्वास्थ्य, पोषण, स्वच्छ खानेपानी, बालश्रम न्यूनीकरण, बालविवाह रोकथाम, हिंसा तथा विभेदको अन्त्य, समावेशी सेवा, प्रतिभा विकास र बाल क्लबको सक्रिय सहभागिता सहितका ५१ वटै सूचक पूरा गरेर मात्र नगर घोषणा गरिने शाखा प्रमुख मेहताले स्पष्ट पार्नुभयो ।


