इटहरी । इटहरी चौकलाई रेड लाईट एरिया बनाउन खोजेको भन्ने आरोप प्रति यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले खण्डन गरेका छन् ।

इटहरीस्थित त्रियुगा होटलमा बिहिबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिता, प्रतिनिधित्व, हक, अधिकार र समानताका विषयमा आयोजना गरिएको कार्यक्रममा अधिकारकर्मी एवं संविधानसभा सदस्य शुनिल बाबु पन्तले राज्य, समाजले पितृसत्तात्मक सोचका कारण एकपक्षिय ढंगले यस समुदायप्रति आरोप लगाएको बताउनुभयो । अधिकारकर्मी पन्तले पुरुषहरु ग्रहाकका रुपमा नजाने भए कोही पनि विषमलिङ्गि महिला वा पारलिङ्गि महिलाहरु सडकमा नउभिने बताउनुभयो ।

केही व्यक्तिहरुले गलत गरेमा कानुनी उपचारमा जान सकिने बताउनुहुँदै पन्तले सिङ्गो समुदायमाथि दोषारोपण गर्नु भने नहुने बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु यौनश्रममा लाग्नु समाजले नै सृजना गरेको वातावरणका कारण भएको उहाँको भनाइ छ । मायाको पहिचान नेपाल, लिड नेपालको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सहभागी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले आफ्नो पहिचानका कारण भोग्दै आएका समस्या, अवसर तथा राजनीतिक सहभागिताका विषयमा आफ्ना विचार र अनुभव प्रस्तुत गरेका थिए ।

नेपालको संविधानले समानता, पहिचान र भेदभाव विरुद्धको अधिकार सुनिश्चित गरे पनि राजनीतिक सहभागिता र राज्यका विभिन्न तहमा अर्थपूर्ण प्रतिनिधित्व अझै महत्वपूर्ण सवालका रूपमा रहेको सहभागीहरूको धारणा थियो ।