इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच फाइनल खेल हुने भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराएर फिदिम स्पोर्टिङ क्लब फाइनलमा पुगेको हो ।
भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । फाइनलमा पुगेका सलहेस र फिदिमबाहेक आयोजक ताप्लेजुङ ११, नेपाल पुसिल क्लब, सातदोटबाटो फुटबल क्लब ललितपुर सहभागी भएका थिए । त्यस्तै चित्लाङ फुटबल क्लब काठमाडौँ, भारतको जर्जियन युनाइटेड फुटबल क्लब र झापा ११ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनभुयो ।
शेर्पाका अनुसार टिकट काटेर खेल हेर्ने भाग्यशाली एकजना दर्शकलाई पनि उपहारस्वरुप टिभिएस कम्पनीको स्कुटर प्रदान गरिने छ । लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।