इटहरी। मोरङको केराबारी–५, सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्षअघि माटोको घारमा स्थानीय जातको ९सेरेना० मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन् । घरवरिपरिको ढुङ्गामाटो मिलाएर आफैँले पाँच घार बनाई त्यही घारमा काठको डुडबाट रानो सारेर सेरेना जातको मौरीपालन सुरु गरेका राई यतिबेला २७ घारमा मौरीपालन गरिरहनुभएको छ । 

सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ । त्यसैले राजु यतिबेला केराबारी गाउँपालिकाका १० वटा वडामा एक घर माटोको एक घार मौरी पाल्ने अभियान चलाइरहनुभएको छ ।  बर्खायाममा मेलिफेरालाई जस्तो सातु, चिनी दिनु पर्दैन तर लामो झरी परेका बेला उसैले बनाएको मह दिनु पर्छ, अन्यथा रानोले घार छोडिदिन्छ । 

मौरीपालनसँगै विभिन्न फलफूलको नर्सरीसमेत सञ्चालन गर्दै आएका राजु राई यतिबेला पैसा कमाउन विदेश जानु नपर्ने बताउनुहुन्छ । कमजोर आर्थिक अवस्थाका राई कुनै समय ट्रेकिङ गाइड हुनुभयो । कहिले विदेश जान पासपोर्ट बोकेर म्यानपावर कम्पनी धाउनुभयो तर कतैबाट पनि राजुको घरगर्जो चल्ने आम्दानी निस्किएन । त्यसपछि पासपोर्ट थन्क्याएर उहाँ कृषिकर्ममा लाग्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय सावित्री माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने पैसा जुटाउन सकिनँ । त्यसपछि सम्भावनाको खोजीमा झन्डै एक दशक डुलेरै बितेछ ।” विदेश नजाने निर्णय गरेर फर्किएपछि धान फल्ने खेत मासेर राजुले उखु खेती सुरु गर्नुभयो । पहाडी गाउँबाट १५र१६ किलोमिटर दक्षिण झरेर साइकलमा उखु बेच्नुभयो । पाँच प्रतिशत ब्याजमा एक लाख ४० हजार रुपियाँ ऋण लिएपछि माटोको घारमा मौरीपालन सुरु गरेको राजुको भनाइ छ । त्यही ऋणले राजुलाई आर्थिक रूपमा उठायो । पहिले ऋण भन्नेबित्तिकै डर लाथ्यो । राजुले माटोका ३० वटा घार एक लाख पचास हजारमा अर्जुनधारा नगरपालिकाका किसानलाई बिक्री गर्नुभयो । केराबारी गाउँपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाका अनुसार राजुलाई गत आवमा पालिकाका उत्कृष्ट उद्यमी किसानका रूपमा एक लाख नगद पुरस्कारले सम्मान गरियो ।