इटहरी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि तेह्रथुमको छथर गाउँपालिकाले २२ लाख २४ हजार ३५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन घडीमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको हो। गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताए। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति छथर गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाको आकस्मिक कोषबाट १ लाख ११ हजार १११ रुपैयाँ, गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूबाट ३४ हजार रुपैयाँ र गाउँपालिका प्रवक्ता राजन नेपालीबाट १२ हजार रुपैयाँ सहयोग गरिने भएको छ। त्यस्तै, अन्य वडाका जनप्रतिनिधिबाट एकमुष्ट ७४ हजार ८५० रुपैयाँ, गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबबाट १४ लाख ५१ हजार ६८८ रुपैयाँ तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट ५ लाख ४२ हजार ३५१ रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। यसैबीच, भदौरे पूर्णिमा मेला–२०८३ का अवसरमा छथर गाउँपालिका क्षेत्रमा विभिन्न व्यक्ति, समूह तथा संस्थाबाट संकलन भएको ३८ हजार १०० रुपैयाँसमेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
विपद्का बेला स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा समुदायबाट गरिएको सामूहिक सहयोगले पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ।


