इटहरी स् भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् । पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती तथा घाँसदाउरा गर्न वन र खेतबारीमा जाने स्थानीयलाई सर्पको जोखिम बढेको उनले बताए ।
‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ’, उनले भने, ‘अहिले गाउँघरमै गोमन सर्प देखिन थालेपछि त्रास बढेको छ ।’ सर्पसम्बन्धी विशेषज्ञले गाउँमा देखिएको सर्प गोमन नै भएको बताएको कोइरालाले जानकारी दिए । खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।


