इटहरी स् हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् ।
१६ वर्षदेखि दृष्टिविहीन भएर ओछ्यानमा रहेकी धनमायाका हातखुट्टा पनि चल्न छाडेका छन् । सामान्य हिँडडुल गर्नदेखि शौचालय जानसमेत उनलाई सहारा चाहिन्छ । तर, जग्गा अंशवण्डा तथा नामसारीका लागि बायोमेट्रिक अनिवार्य भएपछि उनलाई छोरा रिकुमार योङहाङले बोकेर सदरमुकाम फिदिम ल्याएका हुन् । धनमाया बेन्चमा सुतिरहँदा आफन्तले उनलाई पटकपटक शौचालय लैजाने र ल्याउने गरिरहेका थिए । छोरा रिकुमार भने बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारी गर्न कार्यालयका विभिन्न फाँटमा धाइरहेका थिए । धनमायाका श्रीमान्को आठ वर्षअघि निधन भएको थियो । रिकुमार लामो समय वैदेशिक रोजगारीमा रहेकाले त्यसअघि जग्गा अंशवण्डा र नामसारीको काम गर्न नभ्याएको बताए ।
आमालाई गाउँबाट सदरमुकाम ल्याउन रिकुमारले आफन्त र छिमेकीको सहयोग लिए । बिहान गाउँबाट फिदिम आउने सवारीसाधनमा आमालाई लिएर हिँडे पनि उनलाई खाना खुवाएर कार्यालय पुर्याउँदा ढिला भइसकेको थियो । भूमि प्रशासन कार्यालयमा विभिन्न प्रक्रिया पूरा गर्दागर्दै अपराह्न ४ः३० बजिसकेको थियो । त्यतिबेला गाउँ फर्कने सवारीका चालकले रिकुमारलाई फर्कने बेला भएको भन्दै पटकपटक फोन गरिरहेका थिए । काम नसकी नफर्कने अडान लिएपछि गाउँ फर्कने गाडी छुट्यो । ‘पैदल हिँड्दा पनि आमालाई बोकेर १० मिनेटमा गाउँपालिकाको कार्यालय पुग्थ्यौँ । तर त्यहाँ जग्गाको काम नहुने भएकाले फिदिम झर्नुपर्ने बाध्यता आइलाग्यो,’ रिकुमारले भने, ‘यहाँको सेवा पनि गाउँपालिका वा वडा कार्यालयबाटै दिइएको भए मजस्ता सेवाग्राहीलाई सहज हुन्थ्यो होला ।’ रिकुमारका अनुसार फिदिममा रहेको गोर्खा वेलफेयर सेन्टरमा पनि केही काम थियो, जुन भिडिओ कलमार्फत गर्न सकिने व्यवस्था रहेछ ।
गाउँ फर्कने सवारी छुटेपछि रिकुमारसहितको टोलीले फिदिममै आफन्तले लिएको कोठामा बस्ने योजना बनाएको थियो । भूमिसम्बन्धी सेवा स्थानीय तहमा विस्तार नहुँदा धनमाया र रिकुमारजस्ता सेवाग्राहीले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । फिदिम नगरपालिकाबाहेक जिल्लाका सातवटै गाउँपालिकाबाट भूमिसम्बन्धी सेवा प्रवाह गर्नुपर्ने स्थानीयको माग छ । जग्गा किनबेच, अंशवण्डा र नामसारीका क्रममा जग्गाधनी स्वयं उपस्थित भएर बायोमेट्रिक गर्नुपर्ने व्यवस्था भएकाले ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिसमेत कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता रहेको भूमि प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी पदमबहादुर नेम्वाङले बताए । ‘रिकुमारको हकमा एक्लो छोरा भएकाले आमाको निधनपछि जग्गा स्वतः छोराको नाममा आउने हो । तर गाउँमा कुनै संस्थालाई जग्गा दिनुपर्ने भएकाले अंशवण्डा र नामसारीका लागि आउनुभएको रहेछ,’ नेम्वाङले भने, ‘जग्गाको कारोबार गर्नैपर्ने अवस्थामा बायोमेट्रिक गर्न सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनैपर्छ ।’
भूमि प्रशासन कार्यालयको सेवा स्थानीय तहबाटै उपलब्ध गराउनुपर्ने माग बढे पनि जिल्लाको याङवरक गाउँपालिकाले मात्रै त्यसका लागि प्रक्रिया अघि बढाएको नेम्वाङले बताए ।‘याङवरक गाउँपालिकाले भूमि प्रशासनको सेवा दिन प्रक्रिया अघि बढाएको छ,’ उनले भने, ‘स्थानीय तहबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई केही न केही सहज हुन्छ । अन्य गाउँपालिकाले प्रक्रिया अघि बढाएको जानकारी छैन ।’


