इटहरी स् तेह्रथुमको छातेढुंगाका २१ वर्षीय सन्देश सापकोटा एक सातादेखि सम्पर्कविहीन छन्। बिर्तामोड–५, मित्रनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा काम गर्न आएका उनीसँग परिवारको अन्तिमपटक सम्पर्क हुँदा ‘तालिम’का लागि ३० हजार रुपैयाँ मागिएको थियो।
परिवारले उक्त रकम दिन नसक्ने बताएपछि उनलाई घर फर्किन आग्रह गरिएको थियो। त्यसपछि सन्देश परिवारको सम्पर्कमा आएनन्। छोराको खोजीमा बिर्तामोड आएका उनका बुवा नरबहादुर सापकोटाले दिएको विवरण र प्रहरीमा परेको निवेदनपछि प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेको थियो। कार्यालयबाट प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएपछि सन्देश बेपत्ता भएको घटना र उक्त कार्यालयमा सञ्चालन भइरहेको भनिएको गतिविधिबारे अनुसन्धान अघि बढाएको छ। सन्देश गत भदौ २ गते ग्लोबल ओरियन्समा काम गर्न भन्दै घरबाट हिँडेका थिए। बुवाका अनुसार उनले करिब १० दिन काम गरेपछि फोन गरेर ‘यही काम गर्छु, पैसा पठाइदिनु’ भनेका थिए। त्यसक्रममा उनले तालिमका लागि ३० हजार रुपैयाँ आवश्यक पर्ने बताएका थिए। घर फर्किने बताएका सन्देश त्यसपछि परिवारको सम्पर्कमा आएनन्। बुवाका अनुसार उनले कार्यालयका ‘सर’हरूलाई भनेर घर आउने बताएका थिए। त्यसको करिब एक घण्टापछि उनको मोबाइलमा सम्पर्क हुन छाडेको थियो। घटनालाई थप शंकास्पद बनाउने अर्को पक्ष पनि परिवारले प्रहरीलाई जानकारी गराएको छ। सन्देश सम्पर्कविहीन भएकै दिन एक व्यक्तिले नरबहादुरलाई फोन गरेर ‘तपाईंको छोरा घर आइपुग्नुभयो रु’ भनेर सोधेका थिए।
सन्देशले आफूलाई घर जान नदिएको बताएको नरबहादुरको भनाइ छ। त्यसपछि उनको मोबाइल स्वीच अफ भयो। सोही दिन बेलुका र भोलिपल्टसमेत ती व्यक्तिले फोन गरेको परिवारको भनाइ छ। छोराको अवस्था पत्ता नलागेपछि नरबहादुर बिर्तामोड आए। ग्लोबल ओरियन्सको कार्यालयमा पुगेर छोराबारे जानकारी माग्दा त्यहाँका कर्मचारीले सन्देश कार्यालयमा नरहेको बताएका थिए। त्यसपछि उनले वडा कार्यालय हुँदै इलाका प्रहरी कार्यालय बिर्तामोडमा छोरो हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए। सन्देशको खोजीका क्रममा प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेपछि भने त्यहाँ सञ्चालन भइरहेको भनिएको गतिविधि पनि अनुसन्धानको घेरामा परेको छ।
‘तालिम’का नाममा रकम असुल्ने आरोप
प्रहरीका अनुसार बिर्तामोड–५, मित्रनगरमा एउटा घरको दोस्रो तल्लाको फ्ल्याट भाडामा लिएर बाहिर ‘अर्जुनधारा मल्टी पर्पोज’को बोर्ड राखिएको थियो भने भित्र ‘ग्लोबल ओरियन्स नेपाल’ नाममा गतिविधि सञ्चालन भइरहेको थियो। प्रहरीले गोप्य सूचनाका आधारमा गरेको प्रारम्भिक अनुसन्धानमा उक्त स्थानमा युवा–युवतीलाई विभिन्न प्रलोभन देखाएर ल्याउने, ‘होलबडी चेकअप’का नाममा रकम असुल्ने, प्रशिक्षण दिने तथा घर–घरमा पुगेर स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने भन्दै सर्वसाधारणलाई जोड्ने गतिविधि भइरहेको पाइएको जनाएको छ। प्रहरीका अनुसार कर्मचारीलाई परिचयपत्र तथा ‘म्यानेजमेन्ट कोर टिम’ लगायतका ब्याज प्रयोग गराइएको थियो। नयाँ मानिसलाई संस्थामा आबद्ध गराउने र उनीहरूलाई विभिन्न सामग्री तथा फुड सप्लीमेन्ट खरिद गर्न प्रेरित गर्ने गतिविधिसमेत भइरहेको प्रहरीको दाबी छ। यसै सन्दर्भमा सन्देशसँग सुरुमा ३० हजार रुपैयाँ तालिमका लागि मागिएको परिवारको भनाइ पनि जोडिएको छ। उनले उक्त रकम जुटाउन नसकेको र त्यसपछि घर फर्किने बताएका बेला सम्पर्कविहीन भएको परिवारको दाबी छ। सन्देश बेपत्ता हुनु र सोही अवधिमा कार्यालयमा भइरहेको आर्थिक तथा प्रशिक्षणसम्बन्धी गतिविधिबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि, सन्देशको बेपत्ता घटनामा ग्लोबल ओरियन्सका कर्मचारी वा सञ्चालकको संलग्नता पुष्टि भइसकेको छैन।
स्वास्थ्य परीक्षणदेखि ‘सबै रोग निको पार्ने’ दाबीसम्म
प्रहरीका अनुसार ग्लोबल ओरियन्समा स्वास्थ्य परीक्षण तथा उपचारका नाममा सर्वसाधारणलाई प्रभावित पार्ने र विभिन्न किसिमका औषधिजन्य सामग्री तथा फुड सप्लीमेन्ट बिक्री गर्ने गतिविधि भइरहेको सूचना प्राप्त भएको थियो। विभिन्न रोगको पहिचान तथा उपचारसम्बन्धी दाबी गर्दै सर्वसाधारणलाई प्रभावित पार्ने, स्वास्थ्य परीक्षणका नाममा रकम लिने र त्यसपछि फुड सप्लीमेन्ट बिक्रीका लागि सिफारिस गर्ने गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। यही अनुसन्धानका क्रममा प्रहरीले २२ महिला र १९ पुरुष गरी ४१ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये केहीलाई अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ।प्रहरीले कार्यालयबाट तीन थान ल्यापटप, ३९ थान मोबाइल, एक थान पेनड्राइभ, दुई थान मेमोरी कार्ड, ८६ हजार ७५५ रुपैयाँ नगद, कम्पनीका अभिलेख तथा विभिन्न कागजात र ३१ किसिमका औषधिजन्य सामग्री बरामद गरेको जनाएको छ।
तीन जनाविरुद्ध जाहेरी
ग्लोबल ओरियन्सको गतिविधिविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा तीन जनाविरुद्ध जाहेरीसमेत परेको छ। जाहेरीमा बिर्तामोड–५, मित्रनगरस्थित ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेल, अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू र सुशील थापालाई प्रतिवादी बनाइएको छ। प्रहरीका अनुसार इलामको रोङ गाउँपालिका–३ का ४९ वर्षीय कट्टेलले आफूलाई उक्त संस्थामा चिकित्सकका रूपमा चिनाउने गरेका थिए। प्रहरीको विवरणअनुसार उनी कक्षा १२ सम्म अध्ययन गरेका व्यक्ति हुन्। इलामको देउमाई नगरपालिका–९ का २८ वर्षीय लिम्बू पनि पक्राउ परेका छन् भने थापा फरार रहेको प्रहरीले जनाएको छ। कट्टेल र लिम्बूलाई अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनीहरूमाथि अवैध रूपमा स्वास्थ्य परीक्षण तथा औषधिजन्य सामग्री बिक्री गरेको र नेटवर्किङ शैलीको व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सन्देश कहाँ छन् रु
ग्लोबल ओरियन्समाथि प्रहरीको अनुसन्धान अघि बढे पनि सन्देश सापकोटाको अवस्था अझै अज्ञात छ। एउटा संस्थामा काम गर्न घरबाट हिँडेका युवकले केही दिनमै परिवारसँग पैसा माग्नु, ३० हजार रुपैयाँ तालिमका लागि आवश्यक रहेको बताउनु, रकम जुटाउन नसकेपछि घर फर्किने कुरा गर्नु र त्यसको केही समयमै सम्पर्कविहीन हुनु घटनाको गम्भीर पाटो बनेको छ। त्यसमाथि, सन्देश सम्पर्कविहीन भएकै दिन संस्थासँग सम्बन्धित व्यक्तिले उनका बुवालाई ‘छोरा घर आइपुगेको हो रु’ भन्दै फोन गर्नुले परिवारको आशंका थप बढाएको छ। यद्यपि, यी घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि अनुसन्धानबाट हुन बाँकी छ। प्रहरीको प्राथमिकता अहिले सन्देशको खोजी, उनको अन्तिम अवस्थाबारे जानकारी संकलन र ग्लोबल ओरियन्समा सञ्चालन भइरहेको भनिएको आर्थिक तथा नेटवर्किङ गतिविधिको वास्तविकता पत्ता लगाउनमा केन्द्रित छ। छोराको अवस्था अज्ञात रहेकै बेला आफूले पैसा दिन नसकेको कारण छोरामाथि के भयो भन्ने चिन्तामा रहेका नरबहादुरले सन्देशको खोजीका लागि सार्वजनिक अपिल गरेका छन्। परिवारले सन्देश सुरक्षित रूपमा घर फर्किनुपर्ने र घटनाको सत्यतथ्य तत्काल सार्वजनिक हुनुपर्ने माग गरेको छ।
सन्देशको बेपत्ता घटना आफैँमा गम्भीर अनुसन्धानको विषय हो। त्यसमा जोडिएको भनिएको ३० हजार रुपैयाँको ‘तालिम शुल्क’, संस्थाको गतिविधि, पक्राउ परेका व्यक्तिहरू, बरामद सामग्री र सर्वसाधारणबाट रकम असुलिएको भनिएको विषयले घटनालाई थप संवेदनशील बनाएको छ।


