इटहरी स् तीजको अवसर पारेर इलाममा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणसहित परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल परिवार नियोजन संघ इलाम शाखाको आयोजना तथा महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था इलामको समन्वयमा इलाम उद्योग वाणिज्य संघको सभाहलमा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शिविरमा करिब १२० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न दृश्य परीक्षण विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै, शिविरमा लामो अवधिका परिवार नियोजनका साधन, गर्भनिरोधक छडी, पाठेघरभित्र राखिने साधन, यौन तथा प्रजनन मार्गमा हुने संक्रमणको परीक्षण तथा उपचार र पाठेघर खस्ने समस्या भएका महिलाका लागि रिङ राख्नेलगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श नेपाल परिवार नियोजन संघ इलामकी प्रमुख प्रमिला गौतमले प्रदान गरेकी थिइन्। महिला उद्यमी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुनिता श्रेष्ठ कर्माचार्यको संयोजनमा आयोजित कार्यक्रम नेपाल परिवार नियोजन संघ इलामका सभापति पुण्य गौतमको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा उद्योग वाणिज्य संघ इलामका उपाध्यक्ष तथा नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा सदस्य सुनिता राईलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन समन्वय संस्थाकी सचिव आशिका पौडेलले गरेकी थिइन्।


