इटहरी स्  सुनसरीको बर्जु गाउँपालिका–२ स्थित श्री राम–सीता माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र सहारा नेपालको संयुक्त सहकार्यमा सञ्चालित ‘हाउजिङ अपर्च्युनिटी एन्ड माइक्रोफाइनान्स एम्पावरमेन्ट सोलुसन्स ९होम्स० नेपाल परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयको व्यवस्थापन तथा प्राविधिक धारमा अध्ययनरत ८१ जना विद्यार्थी सहभागी थिए। सहारा नेपाल र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्रतिनिधिको समेत सहभागिता रहेको कार्यक्रममा विद्यार्थीलाई वित्तीय व्यवस्थापनदेखि डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगसम्मका विषयमा जानकारी दिइएको थियो। सहारा नेपालकी युवा तथा सरोकारवाला संलग्नता अधिकृत विमला गुरुङले होम्स नेपाल परियोजनाको उद्देश्य, कार्यक्षेत्र र समुदायमा परियोजनाले पार्ने प्रभावबारे जानकारी दिएकी थिइन्। सामाजिक परिचालक बिन्दु चौधरीले वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा, त्यसको सुरक्षित प्रयोग, फाइदा तथा सम्भावित जोखिमका साथै सुरक्षित आवासको महत्त्वबारे अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन्।

होम्स नेपाल परियोजना जेओएको दोस्रो चरणअन्तर्गत पूर्वी नेपालका सुनसरी, सप्तरी, उदयपुर, सिराहा र धनुषाका १७ स्थानीय तहमा सञ्चालन भइरहेको छ। परियोजनाले विशेषगरी ग्रामीण क्षेत्रका महिला तथा न्यून आय भएका परिवारलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गर्ने र सुरक्षित आवाससम्बन्धी जानकारी समुदायसम्म पुर्‍याउने लक्ष्य लिएको छ। आवास निर्माण तथा सुधारका लागि आवश्यक वित्तीय पहुँच अभिवृद्धि गर्नेसमेत परियोजनाको उद्देश्य रहेको आयोजकले जनाएको छ। विद्यार्थीले कार्यक्रममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा विद्यालयका प्रधानाध्यापक सूर्यनारायण मेहताले डिजिटल युगमा विद्यार्थीका लागि वित्तीय ज्ञान र डिजिटल प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी जानकारी अत्यावश्यक रहेको बताए। उनले विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिए।