इटहरी स्  विराटनगर महानगरपालिका–३ साइबाबाचोकमा शुक्रबार बिहान व्यावसायिक सटरमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

मेघराज कोइरालाको घरमा भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सटरमा बिहान करिब २ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट विद्युतीय सवारीसाधनको शोरुम, दुईवटा मोटर पार्ट्स पसल र एउटा नास्ता पसलमा ठूलो क्षति पुगेको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर–२ का श्याम साहले सञ्चालन गरेको विद्युतीय सवारीसाधनको शोरुमका दुई सटरमा आगलागी हुँदा चारवटा विद्युतीय सिटी सफारी, एउटा विद्युतीय स्कुटर, चारवटा विद्युतीय साइकल, चार थान लिथियम ब्याट्री, मदिरा डिलरका सामानलगायत जलेर नष्ट भएका छन्। उक्त शोरुममा मात्रै करिब ५० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

त्यस्तै, विराटनगर–७ का श्याम चौहानले सञ्चालन गरेको मोटर पार्ट्स पसलमा रहेका गाडी तथा मोटरसाइकल ग्यारेजका सामान, मोबिल, ग्रिज, ब्रेक आयल, इन्जिन आयल, मोबिल फिल्टर, कुलिनलगायतका सामान जलेका छन्। प्रहरीले उक्त पसलमा करिब १० लाख रुपैयाँको क्षति भएको जनाएको छ। विराटनगर–२ का मोहमद अजादले सञ्चालन गरेको अर्को मोटर पार्ट्स पसलमा रहेका मोटर पार्ट्स, टायर, ब्याट्री चार्जर तथा ग्यारेजका अन्य सामग्री जलेर नष्ट भएका छन्। उक्त पसलमा करिब ६ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

यसैगरी, विराटनगर–३ की सुष्मा खड्काले सञ्चालन गरेको नास्ता पसलमा रहेका टेबल, कुर्सी, पंखा, फ्रिजलगायतका सामान जलेका छन्। सो पसलमा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको छ। यद्यपि, आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी, विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।