इटहरी स् इलामका किसानले नेपालको मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।
वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ का किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विसं २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यावसायिक स्कुस खेती सुरु गरेका हुन् ।
स्कुस बेचेर उनले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘मैले चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएको छु, अहिले ४० रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको छु,’ उनले भने, भिरालो तथा थोरै जमिनमा पनि धेरै फल्ने, सस्तो, स्वादिलो र मध्यपहाडी तथा हिमाली क्षेत्रमा भान्सामा धेरै प्रयोग हुने तरकारीका रूपमा स्कुसलाई लिने गरिएको छ । स्कुसको मुन्टा र जरासमेत तरकारीका लागि स्वादिष्ट र स्वास्थ्यकर मानिन्छ । सूर्योदय नगरपालिका–९ आरीदाङका प्रेमबहादुर खड्काले २५ रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । गत वर्ष उनले स्कुस बिक्रीबाट रु १३ लाख आम्दानी गरेका थिए । यस वर्ष खेती विस्तार गरेकाले आम्दानी बढ्ने अपेक्षा रहेको उनले बताए । ‘मैले २५ वर्षदेखि व्यावसायिक रूपमा स्कुस लगाउँदै आएको छु । गत वर्ष रु १३ लाख आम्दानी गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष खेती विस्तार गरेकाले आम्दानी बढ्ने अपेक्षा छ ।’ उनले यस वर्ष थप तीन रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको बताए ।
व्यावसायिक स्कुस खेतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि सूर्योदय नगरपालिका–८ कँजेनीका किसान चन्द्र गुरुङले पनि स्कुस खेती सुरु गरेका छन् । तीन वर्षअघि चार रोपनी क्षेत्रफलमा स्कुस रोपेका गुरुङले आम्दानी राम्रो भएपछि खेती विस्तार गर्ने योजना रहेको बताए । यहाँका अधिकांश किसानले नगदेबालीका रूपमा स्कुस खेती गरी मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले कम्तीमा तीन रोपनीदेखि ४० रोपनी क्षेत्रफलसम्म स्कुस खेती गर्दै आएका छन् । फिक्कल, पशुपतिनगर, पञ्चकन्या, कन्याम, समाल्बुङलगायतका क्षेत्रमा किसानले व्यावसायिक रूपमा स्कुस खेती गर्दै आएका छन् । यातायातको सहज सुविधा भएकाले स्कुस खरिद गर्न व्यापारीहरू किसानका घरसम्मै पुग्ने गरेका छन् । चियाखेतीलाई पनि सँगसँगै अँगालेका यहाँका किसानको आर्थिक अवस्था उकास्न स्कुस खेतीले समेत मद्दत पुर्याएको छ । देशका इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछापलगायतका जिल्लामा उपयुक्त हावापानी भएकाले स्कुसको राम्रो उत्पादन हुने गरेको पाइन्छ ।
पूर्वी नेपालका जिल्लामा उत्पादित स्कुस व्यापारीहरूले झापा, मोरङ र सुनसरी हुँदै भारतीय बजारमा लैजाने गरेका छन् । व्यापारीहरूले स्कुस प्रतिमन अर्थात् ४० केजीलाई रु २५० देखि रु १ हजार ६०० सम्ममा खरिद गर्ने गरेका छन् । उत्पादन सुरु हुने समयमा प्रतिमन रु ६०० सम्ममा बिक्री भएको स्कुस अहिले भने प्रतिमन रु २५० मा मात्र बिक्री भइरहेको किसान महतले बताए । ‘मूल्य राम्रो हुँदा आम्दानी पनि राम्रै हुन्छ, मूल्य नहुँदा आम्दानी पनि कम हुन्छ,’ महतले भने, ‘बजार स्थिर हुने हो भने स्कुसबाट राम्रो फाइदा लिन सकिन्छ ।’स्कुस खेतीलाई अन्य खेतीजस्तो धेरै स्याहारसुसार गरिरहन नपर्ने भएकाले खर्च पनि कम लाग्ने महतको भनाइ छ ।


