इटहरी : भोटेकोशी बाढी प्रभावितका लागि ‘रु. १ अभियान’ सञ्चालन गरेको पहिलो पाईला नेपालले संकलित ३७ हजार ९ सय ९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट प्रतिव्यक्ति सानो रकम संकलन गर्दै अभियान सञ्चालन गरेको थियो। पहिलो पाईला नेपालका अध्यक्ष कृष्णबहादुर राउतका अनुसार अभियानबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। उनका अनुसार थोरै–थोरै सहयोग संकलन गर्दा पनि विपद्का बेला प्रभावित परिवारलाई उल्लेख्य सहयोग गर्न सकिने सन्देश दिन अभियान सञ्चालन गरिएको थियो।
राउतले ‘रु. १ अभियान’लाई दैनिक एक रुपैयाँ बचत गर्ने अवधारणासँग जोडिएको बताए। सानो रकमबाट सुरु गरिएको अभियानमा विभिन्न व्यक्ति तथा शुभेच्छुकको सहभागिता जुटेपछि ३७ हजार ९ सय ९५ रुपैयाँ संकलन भएको उनले जानकारी दिए। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम सरकारी राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।


