इटहरी। पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् ।
आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम जुटाएर सहयोग गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको ५१ हजार ८ सय ४० रुपियाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यायका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो । विपद्मा परेका नागरिकको पीडामा आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले विद्यार्थीले रकम संकलन गरेको बाल क्लवका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीले ‘साना हात, विशाल मन, ठूलो सहायता–मानवीय समवेदना र सदाशयता’ भन्ने सन्देशसहित सहयोग रकम संकलन गरेका थिए । विद्यालयमा गठित जुनियर तथा युवा रेडक्रस सर्कल, बाल क्लब, स्काउट र आदर्श विद्यार्थी समूहको अगुवाइमा रकम संकलन गरिएको हो । सानै उमेरदेखि विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीले संकलन गरेको रकम कोषमा जम्मा गरिएपनि शिक्षक तथा कर्मचारीले भने फिदिम नगरपालिकामार्फत रकम हस्तान्तरण गरिने विद्यालयले जनाएको छ ।


