इटहरी स् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ।
प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्रतिष्ठानका अनुसार संकलित रकममध्ये पदाधिकारी तथा शिक्षकरचिकित्सकबाट १० लाख ३४ हजार, कर्मचारीबाट १८ लाख १२ हजार, सुपर स्पेसियालिटी, स्नातकोत्तर तथा इन्टर्न विद्यार्थीबाट सात लाख १५ हजार र पेन्सनर तथा अन्यबाट एक लाख ४१ हजार रुपैयाँ रहेको छ।
उक्त रकम दुई हजार ५०३ जनाबाट संकलन भएको प्रतिष्ठानले जनाएको छ। जसमा पदाधिकारी तथा शिक्षकरचिकित्सक २७८, कर्मचारी एक हजार ५६८, विद्यार्थी ५१९ तथा पेन्सनर र अन्य १३८ जना रहेका छन्। प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा आवश्यक परे सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थासँग समन्वय गरी आफ्ना जनशक्ति, स्रोत र विशेषज्ञता परिचालन गर्ने जनाएको छ। आवश्यकताअनुसार स्वास्थ्य टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिने प्रतिष्ठानले जनाएको छ।


