इटहरी स् बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।

उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो। तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलाश पोख्रेलले महिला तथा बालबालिकासँग सम्बन्धित समाचार तयार पार्दा सामान्य समाचारभन्दा अझ बढी संवेदनशील भएर काम गर्नुपर्ने बताए।

बालबालिकाको पहिचान, तस्बिर तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा त्यसबाट पर्न सक्ने प्रभावबारे पत्रकार सचेत हुनुपर्ने उनको भनाइ थियो। बालबालिकासँग सम्बन्धित विषयमा समाचार बनाउँदा उनीहरूको अधिकार, मर्यादा र सुरक्षालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने उनले बताए। लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकारहरूलाई समेत बालबालिकासँग जोडिएका विभिन्न अधिकार तथा सवाललाई समाचारमार्फत प्रभावकारी रूपमा उठान गर्ने तरिकाबारे पुनर्ताजगी गराउन तालिम उपयोगी भएको आयोजकले जनाएको छ। मानव अधिकार तथा वातावरण विकास केन्द्र ९हुरेन्डेक० उदयपुरका अध्यक्ष शंकर थापाले बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धनका लागि स्थापित संस्थाले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताए।

तालिमले पत्रकारहरूलाई बालबालिकाका सवाललाई अझ प्रभावकारी, तथ्यपरक र जिम्मेवार ढंगले समाचारमा उठान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए। पत्रकारितामा लामो समयदेखि सक्रिय रहेकाहरूले समेत तालिमबाट नयाँ विषय सिक्ने अवसर पाएको उनले बताए। थापाका अनुसार वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हुरेन्डेकले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत १८ वटा वडामा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुई दिनसम्म सञ्चालन भएको तालिममा बालबालिकाको बाँच्न पाउने अधिकार, न्यायिक अधिकार, शिक्षा तथा स्वास्थ्यको अधिकारलगायतका विषयलाई समाचारको विषयवस्तु बनाउँदा अपनाउनुपर्ने विधि, भाषा र संवेदनशीलताका साथै डिजिटल माध्यमबाट रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइएको थियो।

तालिममा सहभागी पत्रकारहरूले बालअधिकारसम्बन्धी समाचारलाई परम्परागत ढाँचाभन्दा फरक, तथ्यपरक, प्रभावकारी र बालमैत्री ढंगले प्रस्तुत गर्न तालिमले थप ज्ञान तथा सीप प्रदान गरेको बताए। समापन कार्यक्रममा सहभागी पत्रकारहरूका तर्फबाट अन्जनी कुमार अधिकारी र यमुना मगरले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आगामी समाचार सम्प्रेषणमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। हुरेन्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित तालिममा वरिष्ठ पत्रकारद्वय कौशल चेम्जोङ र यज्ञप्रसाद शर्माले प्रशिक्षण दिएका थिए। तालिममा बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाका २० जना क्रियाशील पत्रकार सहभागी थिए।