इटहरी। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उदयपुरबाट ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग जुट्ने भएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा निजी क्षेत्रबाट घोषणा तथा विनियोजन भएको रकम उक्त परिमाण पुगेको हो।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उदयपुरका स्थानीय तह तथा निजी क्षेत्रले सहयोग घोषणा गरेका हुन्। उदयपुरको ताप्ली गाउँपालिकाले सबैभन्दा बढी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले विनियोजन गरेको उक्त रकम नगदकै रूपमा कोषमा जम्मा गरिनेछ। त्यसैगरी, उदयपुरको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि १६ लाख रुपैयाँ विनियोजन गरेको छ। नगर प्रमुख बसन्त बस्नेतका अनुसार नगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृत नभएका कारण रकम निकासा हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद जम्मा गर्ने वा सोही रकम बराबरको राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने भन्ने विषयमा निर्णय गरिने नगर प्रमुख बस्नेतले बताए। यस्तै, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। नगरपालिकाको तर्फबाट छुट्टै रकम उपलब्ध गराउनुको सट्टा आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने उनले जानकारी दिए। उता, कटारी नगरपालिकाका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका दुईपटक निर्वाचित कार्यकारिणी सदस्य प्रयास कार्कीले व्यक्तिगत रूपमा पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

कार्कीले विपद्को समयमा पीडित नागरिकलाई राज्यसँगै समाजका सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। विपद्ले जात, धर्म, भूगोल वा आर्थिक हैसियत नहेर्ने भएकाले संकटका बेला मानवीय सहयोग र सद्भाव नै सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ छ।यसरी ताप्ली गाउँपालिकाको १९ लाख ४० हजार ८२७ रुपैयाँ, त्रियुगा नगरपालिकाको १६ लाख रुपैयाँ, व्यवसायी प्रयास कार्कीको पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र चौदण्डीगढी नगर प्रमुख कालुमान लामाको एक लाख रुपैयाँ गरी उदयपुरबाट भोटेकोशी बाढीपीडितका लागि हालसम्म ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग हुने निश्चित भएको छ। उदयपुरका अन्य स्थानीय तहले समेत भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्ने जनाएका छन्। यद्यपि, उनीहरूले हालसम्म आधिकारिक रूपमा कति रकम सहयोग गर्ने भन्ने विवरण सार्वजनिक गरेका छैनन्। अन्य पालिकाबाट समेत सहयोग रकम घोषणा भएपछि उदयपुरबाट बाढीपीडितका लागि जुट्ने सहयोग अझ बढ्ने देखिएको छ।