इटहरी। विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच शुक्रबार अपराह्न कुटाकुट भएको छ ।

कुटाकुट हुन थालेपछि कारागार प्रशासनले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जना कैदीबन्दीलाई बाहिर निकालेको छ । उनीहरूलाई सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक राजन घिमिरेका अनुसार कुटाकुटपछि नियन्त्रणमा लिइएका कैदीबन्दीलाई तत्काल कारागारभित्रै राख्न सकिने अवस्था नरहेकाले अन्यत्रका कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरूलाई कुन–कुन कारागारमा पठाउने भन्ने टुंगो भने लागिसकेको छैन ।

कारागार स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गरेर बसेका चौकीदारसहितका कैदीबन्दीलाई अन्य कैदीबन्दीले कुटपिट गरेका हुन् । कारागारभित्र आतंक मच्चाएको र अन्य कैदीबन्दीमाथि यातना तथा रकम असुली गरेको आरोप लगाउँदै उनीहरूमाथि कुटपिट भएको स्रोतको भनाइ छ । यसअघि कारागार प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो । स्थानान्तरणको सूचना पाएपछि उनीहरूले ‘बी ब्लक’भित्रबाटै ताला लगाएर ब्लक कब्जा गरेको बताइएको छ । त्यसपछि प्रशासनले तत्काल हस्तक्षेप गर्न सकेको थिएन । शुक्रबार भने ब्लक कब्जा गर्ने र त्यसको विरोध गर्ने कैदीबन्दीबीच कुटाकुट भएको हो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली कारागारभित्र पुगेपछि कुटाकुटमा संलग्न भनिएका १८ जनालाई बाहिर निकालेर प्रहरीको जिम्मा लगाइएको हो ।

कारागार स्रोतका अनुसार बाहिर निकालिएकामध्ये केही कैदीबन्दी आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक हुन् । गिरीको इसारामा चौकीदारसहित केही कैदीबन्दीले ‘बी ब्लक’ कब्जा गरेको आरोप छ । कैदीबन्दीको सरकारी भत्ता आफूले लिएको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि छुटिसकेका छन् । उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । कारागार स्रोतले कुटाकुटका क्रममा कसैलाई गम्भीर चोटपटक नलागेको जनाएको छ । घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।