इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजले धार्मिक तथा सामाजिक सेवाको भावना सहित विभिन्न धार्मिक स्थलमा खानेपानी तथा तेल सहयोग गरेको छ ।
समाजले जन्माष्टमीका अवसरमा नयाँ वृन्दावन गौशालालाई २५ कार्टुन पिउने पानी र २ कार्टुन तेल, विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरलाई २५ कार्टुन पिउने पानी तथा सुन्दरहरैँचा–३ लोचनीमा रहेको राधाकृष्ण मन्दिरलाई २० कार्टुन पिउने पानी सहयोग गरेको हो। धार्मिक पर्वलाई केवल पूजा–आराधनामा सीमित नराखी सेवा, सहयोग र मानवीय सद्भाव सँग जोड्ने उद्देश्यले सहयोग गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो ।
उहाँले जन्माष्टमीको अवसरमा धार्मिक स्थलमा आउने भक्तजन, साधुसन्त तथा श्रद्धालुका लागि आवश्यक पर्ने पिउने पानी लगायत सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यस सहयोगका लागि आवश्यक खानेपानी सलोनी वासिङ उद्योगका प्रोप्राइटर तथा गछिया युवा समाजका सल्लाहकार सुबाष न्यौपानेले उपलब्ध गराउनुभएको हो । सामाजिक सेवाप्रति निरन्तर प्रतिबद्ध न्यौपानेले धार्मिक तथा सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको समाजले जनाएको छ । जन्माष्टमी जस्तो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा गरिएको यस किसिमको सहयोगले धर्मसँगै मानवता, सेवा र सामाजिक एकताको सन्देश दिएको छ ।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै युवा पुस्ताले समुदायप्रति देखाएको सक्रियता स्थानीयस्तरमा समेत प्रशंसनीय बनेको छ। गछिया युवा समाजले आगामी दिनमा पनि सामाजिक, धार्मिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सक्रियतालाई निरन्तरता दिने जनाएको छ ।


