इटहरी। जिल्ला प्रशासन कार्यालय धनकुटाले विद्यार्थीलाई लागुऔषध दुर्व्यसन, रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार धनकुटा नगरपालिका–१०, उत्तरपानीस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा विद्यालय, क्याम्पस तथा युवा क्लब लक्षित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाका अधिकारीहरूले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने हानी, यसको सामाजिक तथा स्वास्थ्य असर र दुर्व्यसनबाट बच्ने उपायबारे जानकारी गराएका थिए । धनकुटामा पछिल्लो समय लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको भन्दै विद्यार्थी तथा युवालाई कुलतबाट जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । खुला सीमा तथा अन्य कारणले लागुऔषधको प्रयोग र बिक्री–वितरणको जोखिम बढेकाले रोकथामका लागि चेतनामूलक अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

दुर्व्यसनका बारेमा विद्यार्थी तथा समुदायलाई सचेत गराउन आवश्यक देखिएपछि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख नारायण रंजितकारले जोखिममा रहेका क्षेत्रका विद्यालय तथा शिक्षण संस्थामा पुगेर विद्यार्थीलाई लागुऔषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराउनुभएको थियो ।  कार्यक्रममा प्रहरी प्रमुख रंजितकारले विद्यार्थी तथा युवालाई लागुऔषधको कुलतबाट टाढा रहन आग्रह गर्दै कसैले लागुऔषध प्रयोग वा ओसारपसार गरेको जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित प्रशिक्षणमा उत्तरपानी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।