इटहरी । विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउने, तार्किक क्षमता अभिवृद्धि गर्ने र आत्मविश्वास बढाउने उद्देश्यले आगामी भदौ २७ गते सुन्दरहरैँचामा ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ आयोजना हुने भएको छ । 

सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीको सहकार्यमा सृजनशील बाल क्लबले यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो। प्रतियोगितामा सुन्दरहरैँचा, इटहरी तथा आसपासका क्षेत्रका २४ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। प्रत्येक विद्यालयबाट चार जना (तीन मुख्य र एक रिजर्भ) विद्यार्थी टोलीमा रहनेछन्।

प्रतियोगितामा सामान्य ज्ञान, इतिहास, भूगोल, विज्ञान, प्रविधि, खेलकुद र आईक्यू लगायतका विषय समेटिनेछन् भने प्रतिस्पर्धालाई रोमाञ्चक बनाउन अडियो, भिजुअल र ¥यापिड फायर राउन्ड सञ्चालन गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै सफल सिद्धार्थ एकेडेमीका प्रिन्सिपल राजन लम्सालले पाठ्यपुस्तक भन्दा बाहिरको ज्ञान बाँड्न र विद्यार्थीभित्र लुकेको क्षमता पहिचान गर्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

कुल २० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताले जित–हारभन्दा माथि उठेर विद्यार्थीहरूमा सहकार्यको भावना बढाउने सृजनशील बाल क्लबले जनाएको छ ।