इटहरी । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ स्थित बसन्तपुर–म्याङलुङ सडकखण्ड र बसन्तपुर, मुढे–चैनपुर सडकखण्ड छुट्टिने जिरोपोइन्ट नजिक डाँडाखर्क क्षेत्रमा ग्याबिङ भत्किएपछि सडकमार्ग अवरुद्ध भएको छ ।

सडकको भित्तातर्फ रहेको ग्याबिङको केही भाग यसअघि नै भत्किएको अवस्थामा थियो । ग्याबिङ हटाउने तथा सडक मर्मतका क्रममा मुख्य सडक अवरुद्ध भएपछि टुटे देउराली हुँदै मुढे, चैनपुर, खाँदबारी तथा घुर्बिसे, पाथीभरा, पाँचपोखरी, गुफा लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । मुख्य सडक बन्द भएपछि बसन्तपुर बजारको लोकतान्त्रिक चोकदेखि प्रगति टोल हुँदै टुटेदेउराली जोडिने वैकल्पिक कच्ची सडक सञ्चालनमा ल्याइएको छ ।

अहिले साना तथा ठूला सवारीसाधनलाई यही वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । म्याङलुङ सडकखण्डका सुपरभाइजर उदय गुरुङले वैकल्पिक बाटो सञ्चालनमा रहेकाले सवारीसाधनलाई सोही मार्गबाट आवतजावत गर्न आग्रह गर्नुभएको छ । यता, सडकको पूर्ण निर्माण तथा व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन भने केही समय लाग्ने कुन्सालिङ कन्स्ट्रक्सनका साइट इन्जिनियर सिबा कार्कीले बताउनुभयो । 

मुख्य सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरू प्रभावित भएका छन् । तत्कालका लागि वैकल्पिक सडकले आवतजावतमा राहत दिए पनि कच्ची सडक भएकाले वर्षायाममा थप समस्या आउन सक्ने देखिन्छ । सम्बन्धित निकायले मुख्य सडकको अवरोध हटाई सडकको दिगो मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने स्थानीयको माग छ ।