इटहरी विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्रालाई धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको ऐतिहासिक परम्परा भएको बताएका छन्। उनले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको रथयात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको भावना बलियो बनाउँदै आएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित नरहेको मेयर कोइरालाको भनाइ छ। उनका अनुसार यसले विराटनगरको इतिहास, मौलिक संस्कृति, कला र सामूहिक पहिचानलाई देश तथा विदेशमा चिनाउने अवसरसमेत प्रदान गर्दै आएको छ।

विराटनगरमा राधाकृष्ण मन्दिर स्थापना भएपछि विसं १९८८ बाट खट यात्राका रूपमा सुरु भएको धार्मिक परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो। खट यात्रासहित गणना गर्दा यो परम्परा ९५औँ यात्रामा पुगेको छ भने रथयात्राका रूपमा शनिबार ५९औँ संस्करण आयोजना हुँदैछ। यस वर्षको रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राले विराटनगरका प्रमुख बजार तथा सडक क्षेत्रको परिक्रमा गर्नेछ। रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मुख्य सडक, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ। करिब आठ किलोमिटर दूरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।

यसपटक रथयात्राको धार्मिक मौलिकता कायम गर्न ध्वनि व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ। आयोजकले चर्को ध्वनि प्रदूषण हुने गरी प्रयोग हुँदै आएको डीजे प्रणालीमा प्रतिबन्ध लगाउँदै भजन–कीर्तन, धार्मिक झाँकी तथा परम्परागत सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिएको छ। रथमा जडान गरिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन् भने रथयात्राको मार्गमा विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन्। यसले रथयात्राको आध्यात्मिक वातावरण र मौलिकता संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रथयात्रामा यसपटक ९४ वटा धार्मिक झाँकी सहभागी हुनेछन्। धार्मिक, सांस्कृतिक तथा सामाजिक विषयवस्तु समेटिएका झाँकीमार्फत विराटनगरको विविधतापूर्ण संस्कृति र सामाजिक चेतना प्रस्तुत गरिने आयोजकले जनाएको छ।

रथयात्राको अर्को महत्वपूर्ण पक्ष यस वर्ष यसलाई सामाजिक सेवासँग जोडिएको निर्णय हो। रथयात्राका क्रममा संकलन हुने भेटी तथा दानपेटिकाको रकम धार्मिक गतिविधिमा खर्च नगरी भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ। नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। धार्मिक आस्थाबाट प्राप्त रकम विपद्मा परेका नागरिकको राहतमा परिचालन गर्ने निर्णयले रथयात्राको मानवीय तथा सामाजिक पक्षलाई थप अर्थपूर्ण बनाएको छ। मेयर कोइरालाले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने अभ्यास अनुकरणीय रहेको बताएका छन्। विपद्मा परेका नागरिकप्रति सहयोग र ऐक्यबद्धता प्रकट गर्दै धार्मिक उत्सवलाई सेवाको माध्यम बनाउनु रथयात्राको सकारात्मक सन्देश भएको उनको भनाइ छ।

रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक तथा सुरक्षा निकाय परिचालन गरिएको छ। ठूलो संख्यामा श्रद्धालुको उपस्थिति हुने भएकाले भिड व्यवस्थापन, यातायात सञ्चालन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सुरक्षालाई प्राथमिकतामा राखिएको छ। सुरक्षाका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ। सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि आकाशबाट निगरानी गर्ने उपकरणसमेत प्रयोग गरिनेछ। उच्छृङ्खल तथा आपराधिक गतिविधिमा संलग्न हुनेमाथि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ। रथयात्रा व्यवस्थापनका लागि एक हजार एक सदस्यीय मूल समारोह समिति र २१ वटा उपसमिति गठन गरिएको छ। स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, स्वयंसेवक परिचालन, झाँकी व्यवस्थापन तथा प्रचारप्रसारलगायतका जिम्मेवारी छुट्टाछुट्टै उपसमितिलाई दिइएको छ।

मेयर कोइरालाले रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न श्रद्धालु, सहभागी, स्वयंसेवक तथा नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन्। उनले राधाकृष्ण रथयात्राले विराटनगरको धार्मिक आस्था, सांस्कृतिक वैभव र सामाजिक एकताको सन्देशलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै देश तथा विदेशबाट सहभागी हुने श्रद्धालुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।