इटहरी स् झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी सफारीको ठक्करबाट भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीको मृत्यु भएको हो। प्रहरीका अनुसार धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदलयात्री पराजुलीलाई साँझ ६ः४५ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ९ः५० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले सफारी र चालक भद्रपुर–३ का ४२ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नभएको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, मोरङको बेलबारी नगरपालिका–९ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ। लक्ष्मीमार्गबाट डाँगा बजारतर्फ जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले शुक्रबार साँझ ७ बजेतिर बाटो काट्दै गरेकी अन्दाजी ७५ वर्षीय बेग्री राजवंशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र पछाडि सवार १८ वर्षीय रुमन खवास घाइते भएका छन्। सामान्य अवस्थाका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे शनिबार बिहान ५ बजेतिर मात्र जानकारी पाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा स्कुटर तीव्र गतिमा रहेकाले दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ धर्मकाँटा नजिक बसबाट खसेर सहचालकको मृत्यु भएको छ। विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र–०१–०२–००२ ख १२५५ नम्बरको बसबाट खसेर विराटनगर महानगरपालिका–१३ का २३ वर्षीय सापटे भनिने ईशोर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान ७ः३० बजेतिर गुडिरहेको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले बस र चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सहचालकले बसेको ढोका खुला राखेर यात्रा गर्दा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


