इटहरी । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोगसँगै नागरिकमा पर्याप्त सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस २०८२ का अवसरमा फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय, पाँचथरको संयुक्त आयोजनामा शनिबार फिदिममा सम्पन्न सचेतनामूलक कार्यक्रममा सहभागीले प्रविधिको दुरुपयोगबाट हुनसक्ने जोखिमप्रति नागरिकलाई सचेत बनाउनुपर्ने बताउनुभएको हो ।
“प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार गम्भीर सामाजिक अपराध भएकाले यसको नियन्त्रणका लागि सरकारी निकायसँगै नागरिक समाज, संघसंस्था, सञ्चार क्षेत्र र आम नागरिकको सक्रिय भूमिका आवश्यक रहेको वक्ताको भनाई थियो । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने, प्रविधिको सुरक्षित प्रयोगबारे नागरिकलाई जानकारी गराउनुपर्ने तथा जोखिममा पर्नसक्ने अवस्थाबारे समयमै सचेत हुनुपर्ने विषयमा छलफल गरिएको थियो ।
सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाएर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका प्रयासलाई परिणाममुखी बनाउनुपर्नेमा पनि सहभागीले जोड दिनुभयो । प्रविधिको विकाससँगै यसको प्रयोग बढ्दै गएकाले यसको सही प्रयोग र सम्भावित दुरुपयोगप्रति सजग रहनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रम पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षता तथा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


