इटहरी । सोलुखुम्बुका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले जङ्गली च्याउको व्यापार गरेर घर खर्च जुटाउने गरेका छन् ।

सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँबजारमा जङ्गली च्याउको व्यापार फस्टाउन थालेपछि यसबाट ग्रामीण महिलाहरूलाई घर खर्चको बन्दोबस्त गर्न सजिलो भएको हो । दिनभरी जङ्गलमा खोजेर ल्याउने र बजारमा बिक्री गरेर राम्रो आम्दानी हुने गरेको च्याउ उत्पादनमा आफ्नो लगानी नपर्दा राम्रो फाइदा हुने गरेको तामाखानीकी राम्रीमाया मगरले बताउनुभयो । 

प्रत्येक वर्ष यस सिजनमा भएको च्याउको व्यापारले घरखर्च धान्न धेरै सहयोग गरेको उहाँको भनाइ छ । वर्षाका समयमा सोलुखुम्बुका विभिन्न जङ्गलमा विभिन्न जातका च्याउ पाउने भएकाले ग्रामीण भेगका कतिपय सर्वसाधारणहरूको गुजारामा च्याउले सहयोग गरेको छ । प्रत्येक शनिबार लाग्ने हाटमा रातो, पहेँलोलगायत विभिन्न थरीका च्याउ बिक्रीका लागि ल्याइएका हुन्छन् । बजारमा दूधकुण्ड नगपालिकाका तामाखानी, गार्मा, वेनी, सल्लेरी र काँकुलगायतका गाविसहरुबाट जङ्गली च्याउ आउने गरेको छ । रातो च्याउ सल्लेरीका विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले कोसेलीका रूपमा समेत लाने गरेका छन् । बजारमा रातो च्याउ केही महँगो मूल्यमा बिक्री हुने गरेको छ । औषधीका रूपमासमेत प्रयोग गरिने रातो च्याउ प्रतिकेजी सात सय रुपियाँसम्म बिक्री हुने गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहेलो च्याउ प्रति पाथी चार सय रुपियाँसम्म बिक्री भइरहेको व्यापारी बताउँछन् । 

त्यस्तै, काँकुकी ङिमपुटी शेर्पाले पनि लामो समयदेखि सिजनअनुसार च्याउको व्यापार गरेर घर खर्चको जोहो गर्ने गरेको बताउनुभयो । हप्तामा तीन हजार रुपियाँसम्म बिक्री हुने उहाँको भनाइ छ । च्याउ टिप्न एकदिन र बिक्रीका लागि एक दिनको समय खर्च हुने उहाँको भनाइ छ । परीक्षण नगरेको जङ्गली च्याउ बजारमा आएपनि हालसम्म उक्त च्याउ खाएर स्वास्थ्यमा असर नपरेको उपभोक्ता बताउँछन् । यद्यपि, विषादीयुक्त च्याउ हो वा होइन भन्नेबारे परीक्षण गरिनुपर्ने उपभोक्ताको भनाइ छ ।