इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ । धनकुटाका स्थानीय तह, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न थालेका हुन् ।
हालसम्म धनकुटाका पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६ सय १४ रुपियाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपियाँ, नगरपालिकाका जनप्रतिनिधिको सेवा–सुविधाबाट १ लाख ५३ हजार रुपियाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलब स्केलबाट ६ लाख ४८ हजार ९ सय ४२ रुपियाँ र नगरपालिका क्षेत्रबाहिरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब स्केलबाट १७ लाख २१ हजार ६ सय ७२ रुपियाँ सहयोग गरिनेछ । त्यस्तै, महालक्ष्मी नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ४१ लाख ४८ हजार २ सय २९ रुपियाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपद्बाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपियाँ, जनप्रतिनिधिको १० दिन बराबरको सेवा–सुविधाबाट २ लाख २२ हजार ३ सय ३० रुपियाँ, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ९१ हजार ५ सय २५ रुपियाँ र नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट २७ लाख ३४ हजार ३ सय ६४ रुपियाँ गरी कुल ४१ लाख ४८ हजार २ सय २९ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगर प्रमुख रायले बताउनुभयो । धनकुटाको साँगुरीगढी गाउँपालिकाले पनि ३० लाख रुपियाँ सहयोग गर्ने भएको छ । पालिका अध्यक्ष जितेन्द्र राईका अनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर कुल ३० लाख रुपियाँ सहयोग गर्न लागिएको हो । यसैबिच, धनकुटामा लाखे नाच प्रदर्शन गर्दै बाढी प्रभावितका लागि सहयोग रकम संकलन गरिएको छ । स्थानीयवासी स्वतःस्फूर्त रूपमा सहभागी भई शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा धनकुटा सदरमुकामका विभिन्न स्थानमा लाखे नाच प्रदर्शन गर्दै सहयोग संकलन गरेका हुन् ।
बजार क्षेत्रका विभिन्न स्थानमा दिनभरि प्रदर्शन गरिएको लाखे नाचमार्फत ७१ हजार २ सय २० रुपैयाँ संकलन भएको संकलनकर्ता राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, नेपाली कांग्रेस धनकुटाले पनि बाढी प्रभावितका लागि सहयोग रकम संकलन गरिरहेको छ । संकलित रकम केन्द्रीय कार्यालयमार्फत बाढीपीडितलाई सहयोग गरिने जिल्ला सभापति दिनेश राईले जानकारी दिनुभयो ।


