इटहरी । विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा एक सय १३ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक सय १२ जना पुरुष र एक जना महिला छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । रथयात्रामा ठुलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले भिडमा हुनसक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले यसपटक सुरक्षा निगरानी बढाएको थियो । भिडको अवस्था र शंकास्पद गतिविधिको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिइएकामध्ये केही चोरी तथा पाकेटमारीमा संलग्न रहेको खुलेको छ । रथयात्राका क्रममा दर्शनार्थीका नगद, गरगहना तथा अन्य सामान हराएको तथा चोरी भएको जानकारीसमेत प्रहरीमा आएको थियो। 

अपराधमा संलग्न देखिएकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने र शंकास्पद गतिविधिमा मात्रै संलग्न देखिएकालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छाडिने एसपी कटवालले बताउनुभयो ।  यसै क्रममा रथयात्राको भिडमा हराएका ५ देखि ७ वर्ष उमेर समूहका एक बालक र एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको र अभिभावकलाई प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।  एसपी कटवालले प्रहरीको सक्रिय निगरानी र सुरक्षा व्यवस्थाका कारण रथयात्रा भव्य तथा सुरक्षित रूपमा सम्पन्न भएको बताउनुभयो ।